Published : 26 Dec, 2025

आइडिया स्टुडियो नेपाल सिजन– ८ अन्तर्गत सातदिने व्यावसायिक बुट क्याम्प सम्पन्न

आइडिया स्टुडियो नेपाल सिजन– ८ अन्तर्गत सातदिने व्यावसायिक बुट क्याम्प सम्पन्न

आइडिया स्टुडियो नेपाल सिजन– ८ अन्तर्गत सातदिने व्यावसायिक बुट क्याम्प सम्पन्न भएको छ । काठमाडौं मोडेल कलेज, बागबजारमा २० देखि २६ वैशाखसम्म चलेको यो तालिममा सिजन– ८ का उत्कृष्ट ४५ जना सहभागी थिए । बुट क्याम्प आइडिया स्टुडियोको ल्याब आधारित तालिम मोडलअनुसार ७० घण्टाको सिकाइमा आधारित थियो ।

यो बुट क्याम्पको उद्देश्य सहभागी नवप्रवर्तक र व्यावसायिक सोच भएका युवाहरूलाई उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउने हो । सहभागीहरूले व्यापार योजना बनाउन, हिसाब किताब मिलाउन, बजार कसरी बुझ्ने, आकर्षक बोल्ने तरिका सिक्ने, डिजाइन सोचका आधारमा काम गर्ने र निजी तथा सरकारी साझेदारीबारे ज्ञान प्राप्त गरे ।

सहभागीहरूलाई थप सहयोग गर्न विभिन्न कलेजका विद्यार्थी परामर्शदाताहरूको पनि सहभागिता थियो । उनीहरूले व्यापार योजना तयार गर्न, प्रस्तुति तयार पार्न र व्यावसायिक मोडेल बनाउन सघाए ।

कार्यक्रमको उद्घाटन आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले गरे । उनले सहभागीहरूलाई शुभकामना दिँदै यो किसिमको कार्यक्रममा सहभागी हुनु आफैँमा एक ठूलो अवसर भएको बताए ।

सञ्चालक सदस्य सुरेश सिम्खडाले यस्तो कार्यक्रमले नेपालमा नयाँ सोच भएका युवाहरूलाई व्यवसायमा लाग्न प्रेरणा दिने बताए । दलित लाइभ्स म्याटरका निर्देशक प्रदीप परियारले व्यवसायमा विविधता आवश्यक भएको र आइडिया स्टुडियोजस्तो प्लेटफर्मले सबैलाई अवसर दिन सक्ने कुरा बताए । कलेजका प्राचार्य सुरेन्द्र सुवेदीले ज्ञान साटासाटको महत्त्वबारे बोले ।

बुट क्याम्पको मुख्य आकर्षण दुईदिने डिजाइन सोच तालिम थियो, जुन आइडिया स्टुडियोका सह-संस्थापक रुपेश श्रेष्ठले सञ्चालन गरेका थिए । उनले समस्याको समाधान गर्न सोच्ने नयाँ तरिकाबारे सिकाए ।

त्यसैगरी, रोचक बोहोराले व्यापार मोडेल तयार गर्ने तरिका सिकाए । तेस्रो दिन बजार विशेषज्ञहरूले बजार बुझ्ने तरिका सिकाए । चौथो दिन डिजिटल प्रचार र सामाजिक सञ्जालमा सामग्री बनाउनेबारेमा तालिम दिइएको थियो । पाँचौँ दिन पैसाको व्यवस्थापन र उत्पादन कसरी सुधार्ने भन्ने सत्रहरू भए । छैटौँ दिन डा. छिरिङ लामाले निजी र सरकारी मिलेर कसरी व्यवसाय बढाउन सकिन्छ भन्नेबारे प्रकाश पारे भने पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले कसरी राम्रोसँग आफ्नो विचार प्रस्तुत गर्ने भनेर तालिम दिइन् ।

अन्तिम दिन सहभागीहरूलाई विभिन्न कम्पनीहरूको भ्रमण गराइयो, जस्तै लिप फ्रग टेक्नोलोजी, प्रभु बैंक, खल्ती डिजिटल वालेट र आइक्याफे इन्नोभेसन हब । यसले सहभागीहरूलाई व्यावसायिक वातावरणको अनुभव लिन सहयोग गर्‍यो । 

कार्यक्रमको अन्त्यमा ओलम्पिक स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय सल्लाहकार क्याट्रिना वेबले सहभागीहरूलाई प्रेरणादायी सन्देश दिँदै उद्यमशीलतामा निरन्तरता, मिहिनेत र जोसको आवश्यकता औँल्याइन् ।

यसपटकको कार्यक्रममा सुरुको विचारको चरणमा रहेका युवाहरू र व्यवसायमा पहिले नै लागेका अनुभवी उद्यमीहरू दुवै सहभागी भएका थिए । कोरिया, अमेरिका, बेलायतलगायत विभिन्न देशबाट फर्केका नेपालीहरूले पनि आफ्ना विचार प्रस्तुत गरेका थिए । ‘गुर्खा वाच’, ‘मन बेकरी’ र ‘कपडा डटकम’जस्ता केही स्थापित कम्पनीहरूको पनि सहभागिता थियो ।

बुट क्याम्पको अन्त्यमा सबै सहभागीले आफ्नो व्यावसायिक प्रस्तुति तयार पारी विद्यार्थी परामर्शदातासँग मिलेर प्रस्तुत गरे । आयोजकहरूका अनुसार यो कार्यक्रमले नेपालमा उद्यमशीलताको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।